आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु. ३ अर्ब ९७ करोड ६७ लाख ४ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार, यस अवधिमा रु. ४ अर्ब ३३ करोड ८२ लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको करिब ९१ प्रतिशत मात्र प्राप्त भएको हो ।
सङ्कलित राजस्वमध्ये आयकरबाट रु. १ अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरबाट रु. ३ करोड १८ लाख ९९ हजार, व्याजकरबाट रु. ६ करोड १७ लाख ८५ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु. ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कबाट रु. १ अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवा करबाट रु. ३ लाख १० हजार, शिक्षाकरबाट रु. १ हजार तथा अन्य स्रोतबाट रु. २ करोड ५२ लाख ६६ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक फर्ममाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा फर्मले रु. ४ करोड ३० लाख राजस्व दाखिला गरेका छन् ।
कार्यालयमा हालसम्म १ लाख ६६ हजार ६५२ करदाता दर्ता रहेको पनि प्रमुख गुप्ताले जानकारी दिएका छन् ।