साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ। आज नेप्से सूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा पुगेर बन्द भएको छ।
बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । आज ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले वृद्धि भएको छ भने सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको मूल्यमा समान १४.९९ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन् ।
यता, होटल फरेस्ट इनको सेयर मूल्यमा सबैभन्दा धेरै १०.७५ प्रतिशतको गिरावट आएको छ ।
समूहगत आधारमा होटल तथा टुरिजम समूहमा २.३६ प्रतिशत तथा ट्रेडिङ समूहमा १.१० प्रतिशत गिरावट देखिएको छ । अन्य समूहहरूमा भने एक प्रतिशतभन्दा कम उतारचढाव रहेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ४१ करोड ३४ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स ३२ करोड ७८ लाख रुपैयाँ र सोलु हाइड्रोपावर ३१ करोड ६९ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज कुल ३४२ कम्पनीको कारोबार भएकोमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।