पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सञ्चालन गरिएका विशेष अभियानअन्तर्गत विभिन्न स्थानबाट ठूलो परिमाणमा लागु औषधसहित सयौँ व्यक्ति पक्राउ परिरहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय का अनुसार एकै दिन ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ मा गरिएको सघन चेकजाँचका क्रममा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कको संयुक्त टोलीले २५ वर्षीय संजोग राई, २५ वर्षीय रूपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र एक मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
सुनसरीमा पनि अलग–अलग स्थानबाट दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इनरुवा–२ निवासी सैफअली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ भने कोशी गाउँपालिका–१ बाट वराहक्षेत्र नगरपालिका–६ का हरिबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
मोरङको विराटनगर–१६ मा इलाका प्रहरी कार्यालय रानी तथा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले सुन्दरहरैँचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
उदयपुरको बेलका–१ क्षेत्रमा मोटरसाइकल जाँचका क्रममा चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र पछाडि सवार श्यामकुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झापा, मोरङ र सुनसरी क्षेत्रमा लागुऔषध ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि विशेष निगरानी, सघन चेकजाँच र संयुक्त अपरेसन तीव्र पारिएको छ। सीमा क्षेत्र तथा मुख्य आवागमन मार्गहरूमा निगरानी कडा बनाइएको छ ।
कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे ले लागुऔषधविरुद्ध “शून्य सहनशीलता” नीति अपनाइएको बताउँदै अवैध गतिविधि नियन्त्रणका लागि अभियान निरन्तर रहने जानकारी दिनुभयो ।
पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्थानीय तह, समुदाय र सरोकारवाला निकायसँग सहकार्य गर्दै अभियानलाई अझ प्रभावकारी बनाइएको पनि कार्यालयले जनाएको छ ।