रौतहट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका लाखौँ मूल्य बराबरका सामान, सवारी साधन तथा एक जना चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालिका–३ बाट अवैध सामग्रीसहितको पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको २ हजार ९ सय किलोग्राम तोरी र ३ सय ५० किलोग्राम सरसो लोड गरिएको ज. १ च. १३४३ नम्बरको पिकअप गाडी बरामद गरेको छ । सो कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २५ वर्षीय चालक पवन साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार बरामद गरिएको तोरी र सरसको बजार मूल्य करिब ३ लाख ९० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य करिब २० लाख रुपैयाँ रहेको छ ।
यसैगरी, अर्को कारबाहीका क्रममा भारतबाट दुईवटा जर्किनमा भरी भन्सार छली ल्याउँदै गरेको १० हजार ५ सय ३० रुपैयाँ बराबरको डिजल तथा ५० हजार रुपैयाँ मूल्य बराबरको बीआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालक, बरामद सामान तथा सवारी साधन गरी कुल २४ लाख ५० हजार ५ सय ३० रुपैयाँ बराबरको अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डीएसपी बस्यालले जानकारी दिए ।
रौतहट प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सक्रियता बढाउँदै अभियानलाई कडाइका साथ अघि बढाइरहेको छ ।