कलैया उपमहानगरपालिका–१० मटियर्वाकी प्रीति कुमारी शाहले अठोट, संघर्ष र निरन्तर मेहनतका साथ बाराको कानुनी इतिहासमा नयाँ अध्याय थपेकी छन् ।
सामान्य किसान परिवारमा जन्मेकी उनले नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)द्वारा सञ्चालन हुने अधिवक्ता परीक्षा उत्तीर्ण गर्दै जिल्लाकै पहिलो महिला अधिवक्ता बन्न सफल भएकी हुन् । मटियर्वा गाउँ मात्र होइन, समग्र बारा जिल्लाबाटै कानुन व्यवसायमा प्रवेश गर्ने उनी पहिलो महिला भएकी बताइएको छ । ग्रामीण परिवेश, सीमित स्रोतसाधन र सामाजिक चुनौतीबीच उनले हासिल गरेको सफलता अहिले प्रेरणाको स्रोत बनेको छ ।
प्रारम्भिक शिक्षा गाउँकै सरकारी विद्यालयबाट पूरा गरेकी प्रीति किसान निजी विद्यालयका शिक्षक महेश सिंह शाहकी छोरी हुन् । मधेशी समाजमा छोरीहरूको उच्च शिक्षा र पेशागत सहभागिता अझै चुनौतीपूर्ण मानिने सन्दर्भमा उनले आर्थिक अभाव, सामाजिक दबाब र संरचनात्मक अवरोध पार गर्दै आफ्नो शैक्षिक यात्रा अगाडि बढाएकी थिइन् । कानुन अध्ययन अघि नै उनले अर्थशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरी ‘डबल मास्टर डिग्री’ हासिल गरेकी थिइन् । समाजमा न्याय र समानताको आवश्यकता महसुस गरेपछि उनले कानुन संकाय अन्तर्गत एलएलबी अध्ययन पूरा गरिन् । त्यसपछि लामो तयारी र मेहनतपछि बार काउन्सिलको परीक्षा उत्तीर्ण गर्दै अधिवक्ताको लाइसेन्स प्राप्त गरेकी छन् ।
उनको सफलताले मटियर्वा गाउँसँगै सिंगो बारा जिल्लामा उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ । स्थानीय रामबाबु यादवका अनुसार प्रीतिको उपलब्धिले मधेशका बालिकाहरूलाई ठूलो प्रेरणा दिएको छ । “छोरीहरूले पनि ठूला सपना देख्न र पूरा गर्न सक्छन् भन्ने सन्देश दिएकाे उनले बताए । प्रीतिले आफ्नो सफलताको श्रेय परिवार, विशेषगरी बुबाको मार्गदर्शन र सहयोगलाई दिएकी छन् । आगामी दिनमा आफ्नो पेशागत यात्रालाई सामाजिक न्याय र सेवा केन्द्रित बनाउने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अदालतमा बहस गर्नु मात्र नभइ महिला हिंसाविरुद्ध आवाज उठाउने, महिला अधिकारको संरक्षण गर्ने र न्यायबाट वञ्चित ग्रामीण समुदायलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने लक्षय रहेकाे उनले बताएकि छन् ।
विशेषगरी घरेलु हिंसा, बालविवाह, सम्पत्ति अधिकार, नागरिकता समस्या र लैङ्गिक विभेदका मुद्दामा काम गर्ने योजना बनाएको उनले बताएकी छन् । यसका साथै, ग्रामीण क्षेत्रमा कानुनी साक्षरता अभिवृद्धि गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत रहेको उनले बताइन् ।
सांसद सचिवालयमा कानुनी विज्ञ नियुक्त
यसैबीच, अधिवक्ता शाहलाई बारा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर अरविन्द साहको सचिवालयमा कानुनी विज्ञका रूपमा नियुक्त गरिएको छ ।
सचिवालयले कानुनी परामर्श, नीति निर्माण सहयोग तथा जनगुनासो समाधानमा उनको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ विज्ञकाे रूपमा राखिएकाे सांसद अरविन्द साहले बताएका छन् । सामान्य किसान परिवारकी छोरीले शैक्षिक र व्यावसायिक क्षेत्रमा हासिल गरेको यो उपलब्धिले बारामा सामाजिक रूपान्तरण, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने देखिन्छ ।