सुनसरीको इटहरीमा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार इटहरी–११ स्थित शारदा बिकको घरमा डेरा गरी बस्दै आएका भारतको बिहार राज्य, नरपतगञ्ज स्थायी ठेगाना भएका सहनेवाजको कोठाबाट लागुऔषध ट्रामाडोलका ५० हजार ५४० क्याप्सुल र डाइक्लोमिनका ९ हजार ५ सय ट्याब्लेट बरामद गरिएको छ । बरामद गरिएको कुल लागुऔषधको संख्या ६० हजार ६० ट्याब्लेट/क्याप्सुल रहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका सहनेवाजलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।