धनुषामा बलात्कार घटनाकी पीडित एक महिलाले पतिले समेत साथ छाडेपछि आफू बिचल्लीमा परेको बताउनुभएको छ ।
उहाँका अनुसार घटनापछि श्रीमान्ले साथ नदिई घरबाट निकालिदिँदा अहिले आफू थप पीडामा परेर माइतमा बस्न बाध्य हुनुभएको छ ।
धनुषाको सबैला नगरपालिका–३ की ती महिलाले गत पुस ६ गते आफू बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिनुभएको थियो। तर जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको उहाँको गुनासो छ ।
पीडितका अनुसार २०८२ पुस ६ गते साँझ जनकपुरधाम–४, मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिइएको लड्डु खाएपछि आफू बेहोस भएको र सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले आफ्नो इच्छाविपरीत जबरजस्ती करणी गरेको उहाँले बताउनुभयो ।
जाहेरीमा सबैला नगरपालिका–३ का अमिस महरा आरोपित रहेको उल्लेख छ । आरोपितले घटनाको भिडियोसमेत बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानी पुर्याउने धम्की दिँदै पटक–पटक जबरजस्ती गरेको पनि जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितका अनुसार आरोपित जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत रहेको भए पनि खुलेआम हिँडडुल गरिरहेको र पक्राउ नपरेकोप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ ।
दोषीमाथि कारबाही नहुँदा र पारिवारिक साथसमेत गुमाउँदा आफू अत्यन्तै संकटमा परेको भन्दै उहाँले सम्बन्धित निकायसँग तत्काल न्याय र दोषीमाथि कारबाहीको माग गर्नुभएको छ ।