राष्ट्रिय परीक्षा बोर्ड (एन.ई.बी) द्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) देखि देशभर सुरु भएको छ ।
यस वर्ष देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । बोर्डका अनुसार गत वर्ष ५ लाख ११ हजार ५२५ जना सहभागी भएकामा यस वर्ष ९२ हजार ७२५ जनाले कमी आई कुल संख्या घटेको हो ।
बोर्डले परीक्षार्थी संख्यामा आएको गिरावटलाई सकारात्मक रूपमा लिएको छ । अघिल्ला वर्षहरूमा नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा सुधार आएकाले आंशिकतर्फका विद्यार्थीको संख्या घटेको बोर्डको विश्लेषण छ । गत वर्षको नतिजाअनुसार ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस वर्ष सहभागी कुल परीक्षार्थीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ जना र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना रहेका छन् । बोर्डका अनुसार २०७९ साल यताका विद्यार्थीहरूले आंशिक परीक्षा दिँदै आएका छन् ।
यसैबीच, विदेशस्थित जापानको एभरेस्ट स्कुलबाट ३६ जना विद्यार्थीले पनि यसपटक परीक्षा दिइरहेका छन् । देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका छ ।
परीक्षार्थीहरूलाई मर्यादित र अनुशासित रूपमा परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ । साथै, देशभरका परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था र आवश्यक जनशक्ति परिचालन गरिसकिएको बोर्डले जनाएको छ ।
बोर्डले नतिजाको गुणस्तरमा सुधार हुँदै गएको उल्लेख गर्दै यस वर्षको परीक्षाबाट थप उत्साहजनक नतिजा आउने अपेक्षा गरेको छ ।