सरकारले हालै गठन गरेको सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । आयोग खारेज गर्नुपर्ने मागसहित अधिवक्ता डा. प्रेमराज सिलवालले आज रिट दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिटमा आयोग गठन नै कानुनविपरीत भएको दाबी गरिएको छ । रिट निवेदनमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विद्यमान निकायहरूको क्षेत्राधिकारभित्र पर्ने भएकाले नयाँ आयोग आवश्यक नरहेको जिकिर गरिएको छ ।
रिटमा सरकारले गठन गरेको आयोग र अन्य संवैधानिक तथा कानुनी निकायहरूको कार्यक्षेत्र आपसमा जुध्ने भएकाले उक्त आयोग खारेज गर्नुपर्ने माग गरिएको छ । साथै, यस्तो आयोग गठनले संवैधानिक संरचना र संस्थागत अधिकारमा असर पार्ने दाबी पनि गरिएको छ ।