धनुषाको कमला नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा सर्वसाधारण मारमा परेका छन् ।
ज्येष्ठ नागरिकदेखि शिक्षक र कर्मचारीसम्मले तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । नगरपालिकाकी उपमेयर शिलादेवी मण्डलले आफूलाई बेवास्ता गर्दै दबाबमा नगरसभा सम्पन्न गरी बजेट ल्याइएको आरोप लगाएकी छन् ।
पत्रकार सम्मेलनमा उनले नगरसभा सम्पन्न भएको दुई साता बितिसक्दा पनि बजेट कार्यान्वयनमा नआएको र मेयर विशेश्वर यादव तथा प्रमुख प्रशासकीय अधिकृत दुई सातादेखि सम्पर्कविहीन रहेको दाबी गरिन् ।
उनका अनुसार नगरसभा अघि बितेका दुई आर्थिक वर्षको खर्च विवरण, विकास निर्माणका काम र बजेट परिचालनबारे स्पष्ट जानकारी नदिई एकलौटी रूपमा निर्णय गरिएको थियो । “हामीलाई संलग्न नगराई त्रासपूर्ण वातावरण सिर्जना गरेर नगरसभा सम्पन्न गर्नु कानुनी व्यवस्थाको उपहास हो,” उपमेयर मण्डलले भनिन् ।
उपमेयर मण्डलले कार्यपालिका भित्र आफूहरू, वडाध्यक्ष तथा सदस्यहरूको बहुमत रहेकाले मेयर यादव लुकिछिपी हिँड्ने गरेको आरोपसमेत लगाइन् । उनले उक्त नगरसभालाई अवैधानिक भएको दाबी गर्दै वडा नम्बर १ का वडाध्यक्षले पनि यसप्रति असहमति जनाएको बताइन् ।
यता, स्थानीयस्तरमा सेवा प्रवाह ठप्प हुँदा नागरिक आक्रोशित बनेका छन्। नागरिक समाज संघर्ष समितिका अध्यक्ष विष्णुदेव राम यादवले ज्येष्ठ नागरिकले ९ महिनादेखि भत्ता नपाएको गुनासो गरे । उनले शिक्षक, कर्मचारी, बालबालिका तथा गर्भवती महिलालगायतले पाउनुपर्ने सेवा–सुविधा समेत विगत लामो समयदेखि अवरुद्ध भएको बताए ।
“नगरपालिकाले नियमित काम नगर्दा दैनिक जीवनयापनमै समस्या भएको छ,” उनले भने ।
कमला नगरपालिकामा चैत ३० गते नगरसभा सम्पन्न भएको थियो। तर त्यसयता बजेट कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।