नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।
निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यता, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ ।
त्यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँ वृद्धि भएसँगै अब खाना पकाउने ग्यासको मूल्य २,१६० रुपैयाँ पुगेको छ ।