निजी जग्गा नभएका धनुषा–सिरहाको सीमावर्ती क्षेत्रमा बसोबास गर्दै आएका विपन्न किसानहरू कमला नदीको बगरमा खरबुजा खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
उत्पादन गरेको खरबुजा तथा अन्य तरकारी सहजै बिक्री हुने भएपछि किसानहरूले तीन महिनामै लगानीको दोब्बरभन्दा बढी आम्दानी गर्न थालेका छन् । धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा पर्ने कमला नदी किनारमा रहेका किसानहरू विगत दुई दशकदेखि बगरमा खेती गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा भने यसतर्फ आकर्षण उल्लेख्य रूपमा बढेको छ । कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका तथा सिरहाको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका किसानहरू खरबुजा खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।
स्थानीय किसान किसुन यादवका अनुसार उनले करिब ६ हजार रुपैयाँबाट खेती सुरु गरेका थिए । अहिले एक कठ्ठामा करिब ५ हजार लगानी गर्दा तीन महिनामै १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले भने, “दिनरात मेहनत गर्नुपर्छ, तर यही खेतीले परिवार पाल्न र छोराछोरीलाई राम्रो खानपान दिन सकेको छु ।”
विगतमा बाटोघाटोको अभाव र बजार पहुँच कमजोर हुँदा उत्पादनको उचित मूल्य नपाएर किसानहरू समस्यामा परेका थिए । तर अहिले यातायात सहज भएसँगै बजारसम्म पहुँच बढेको छ । यात्रुहरू पनि कमला नदी किनारबाटै खरबुजा तथा तरकारी किनेर लैजाने गरेका छन् ।
हाल खरबुजाको मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म पुगेको छ । एक खरबुजा करिब ७ किलोसम्म हुने गर्छ । पिपलको रुखमुनी दैनिक करिब १० क्विन्टलसम्म खरबुजाको कारोबार हुने गरेको स्थानीयहरू बताउँछन् ।
खरबुजासँगै फर्सी, लौका, काक्रो, फुइँटलगायतका तरकारी खेती पनि भइरहेको छ । यसले किसानहरूको आम्दानी थप बढाएको छ । करिब एक बिघामा खेती गर्दा वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
स्थानीय किसानहरू खोलाको बगरमै अस्थायी बास बनाएर खेतीदेखि बिक्रीसम्मको काम गर्छन् । केही किसानहरूले दैनिक ५–६ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।
उत्पादित खरबुजा धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर तथा सिरहाको लहानसहित सीमावर्ती भारतीय बजारमा पनि माग हुने गरेको छ ।
किसानहरूका अनुसार समयमा मल उपलब्ध हुने, बाढी नियन्त्रण हुने र बजार व्यवस्थापनमा सहयोग मिले बगरको खेती निम्न वर्गीय किसानका लागि भरपर्दो आयस्रोत बन्न सक्छ ।