सप्तरी प्रहरीले सालको काठ (गोलिया) सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
शनिबार राति करिब ९ः३० बजे खडक नगरपालिका–८ बिसनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गस्ती गर्ने क्रममा स १ त ३९०२ नम्बरको ट्याक्टर बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले ट्याक्टरमा राखिएको तीन थान सालको काठ (गोलिया) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार सब–डिभिजन वन कार्यालय कल्याणपुरका प्राविधिक कर्मचारीबाट नापजाँच गर्दा उक्त काठको परिमाण ८० क्युफिट रहेको र यसको मूल्य करिब २ लाख ४० हजार रुपैयाँ बराबर रहेको पाइएको छ । त्यस्तै नियन्त्रणमा लिइएको ट्याक्टरको मूल्य करिब ६ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । यसरी काठ र ट्याक्टरसहित जम्मा करिब ८ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको काठ र ट्याक्टर आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय कल्याणपुर, सप्तरीमा बुझाइएको प्रहरीले जनाएको छ ।