बरहथवा नगरपालिका ले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक प्रयोगसम्बन्धी कडाइ गर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत विद्यालयहरूले नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने तथा तोकिएकोभन्दा बढी पुस्तक प्रयोग नगर्न सचेत गराइएको हो ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार केही विद्यालयहरूले स्पष्ट आधारबिना पटक–पटक पाठ्यपुस्तक परिवर्तन गर्ने, अत्यधिक मूल्य भएका प्रकाशनका पुस्तक लागू गर्ने तथा साना कक्षाका बालबालिकालाई समेत आवश्यकभन्दा बढी पाठ्यपुस्तक र अभ्यास पुस्तिका बोक्न बाध्य पार्ने गुनासो प्राप्त भएको थियो ।
यसबाट अभिभावकमा आर्थिक भार बढ्नुका साथै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत नकारात्मक असर परेको निष्कर्ष नगरपालिकाले निकालेको छ । पत्रमा शिक्षा विकास तथा समन्वय इकाई मलंगवा बाट प्राप्त निर्देशनका आधारमा यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ ।
अबदेखि सबै संस्थागत विद्यालयहरूले सरकारी स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने तथा अनावश्यक रूपमा थप पुस्तक प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ ।
नगरपालिकाले निर्देशनको अवज्ञा गर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । यस निर्णयले अभिभावकको आर्थिक बोझ कम हुनुका साथै विद्यार्थीमैत्री शिक्षण वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।