निजगढस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले नदीजन्य पदार्थ ओभरलोड गरी ढुवानी गर्ने टिपरमाथि कडाइका साथ कारबाही थालेपछि ओभरलोड ढुवानीमा उल्लेख्य कमी आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख दीपक केसीका अनुसार मातहतका प्रहरीलाई ओभरलोड टिपर नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएपछि पछिल्लो केही दिनयता ओभरलोड ढुवानी लगभग नियन्त्रणमा आएको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग, बागमती, चन्द्रनिगाहपुर, निजगढ, पथलैया तथा बरियारपुर–कलैया सडकखण्ड र त्रिभुवन राजपथ अन्तर्गत पथलैया–वीरगंज सडकखण्डमा क्षमताभन्दा बढी ढुङ्गा, गिट्टी, ग्राभेल र बालुवा बोकेर टिपर सञ्चालन हुने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले विशेष निगरानी थालेको हो ।
प्रहरीका अनुसार पहिलो पटक ओभरलोड भेटिए सम्झाइबुझाइ गरी फर्काउने तथा अटेर गरेमा सामग्री झार्न लगाएर कारबाही गर्ने व्यवस्था गरिएको छ । यसले चालकहरूमा सचेतना बढेको र ओभरलोड ढुवानी घटेको बताइएको छ ।
स्थानीयका अनुसार १० चक्के टिपरले करिब १२ घनमिटर क्षमता भए पनि ढालामाथि थप सामग्री राखी १६ देखि २० घनमिटरसम्म नदीजन्य पदार्थ ओसार्ने गरिएको थियो । यसले सडकमा ढुङ्गा, गिट्टी र बालुवा खस्ने समस्या बढाउँदै दुर्घटनाको जोखिम उच्च बनाएको थियो ।
ट्राफिक प्रहरीका अनुसार ओभरलोडका कारण सडक र पुलमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले नियमित अनुगमनलाई कडा पारिएको हो ।
निजगढ–वीरगंज सडकखण्डमा यात्रा गर्ने दुईपाङ्ग्रे सवारी चालकहरूले भने पछिल्लो समय सडकमा सामग्री झर्ने क्रम घटेको र दुर्घटनाको जोखिम कम भएको बताएका छन् ।
प्रहरीले ओभरलोड नियन्त्रणसँगै अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि पनि कारबाही जारी राख्ने जनाएको छ ।