महोत्तरी जिल्लामा हावाहुरीका कारण गाईगोठ भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–६, मुसहरी टोलकी ५० वर्षीया सुनिता सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनी स्थानीय सुन्देश्वर सदाकी श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर आएको तीव्र हावाहुरीबाट बच्न सुनिता सदा स्थानीय झगरु मुखियाको गाईगोठमा ओत लाग्न गएकी थिइन् । सोही क्रममा अचानक आएको हावाहुरीले गाईगोठ भत्किँदा उनी भित्रै च्यापिएकी थिइन् ।
घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, हावाहुरी तथा प्राकृतिक विपद्को समयमा सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरिएको छ ।