सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई प्रदान गरिएको योजनाको चिठी फिर्ता लिएर सम्बन्धित वडा कार्यालयलाई दिएको छ । ‘पूर्वाधार विकास कार्यालयबाट योजना बिक्री भएको गुनासा’ शीर्षकमा वैशाख २७ गते गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि कार्यालयले उक्त कदम चालेको हो ।
लालबन्दी नगरपालिका–१४ नारायणखोलामा सडक निर्माणका लागि आएको ७५ लाख रुपैयाँको योजनाको चिठी बिचौलियाले लगेको भन्दै वडाध्यक्ष छेनामसिंह घिसिङसहित स्थानीय सेवाग्राहीले गुनासो गरेका थिए । त्यसपछि उक्त विषय सार्वजनिक भएपछि कार्यालयले पुनः वडा कार्यालयलाई योजनाको चिठी उपलब्ध गराएको हो ।
वडाध्यक्ष घिसिङका अनुसार वैशाख २५ गते कार्यालय पुग्दा योजनाको चिठी अरूले नै लगिसकेको जानकारी दिइएको थियो । तर समाचार प्रकाशित भएपछि बिहीबार आफूलाई कार्यालयमा बोलाएर २५/२५ लाख रुपैयाँका तीनवटै योजनाको नयाँ चिठी उपलब्ध गराइएको उनले बताए ।
उनले वैशाख १५ गते नै योजनाको चिठी काटिएको पाइएको उल्लेख गर्दै चिठी बुझेका बिचौलियाले आफूलाई पटक–पटक फोन गरेर कमिसन मागेको तर आफूले अस्वीकार गरेको बताए । समाचार सार्वजनिक भएपछि कार्यालय बाध्य भएर पुनः चिठी दिन तयार भएको उनको भनाइ छ ।
हाल लालबन्दी–१३ र १४ को सीमास्थित नारायणदोभान क्षेत्रमा ट्रस पुल निर्माण भइरहेको छ । मधेश प्रदेश सरकारबाट प्राप्त ७५ लाख रुपैयाँको बजेटमार्फत सडक निर्माण गरी साबिक नारायणखोला गाविसको केन्द्र मटरदोभानसम्म सडकको ट्र्याक पुर्याउने लक्ष्य रहेको वडाध्यक्ष घिसिङले जानकारी दिए । उनका अनुसार योजनाको चिठी प्राप्त भएसँगै शुक्रबार गाउँलेको भेला बोलाएर उपभोक्ता समिति गठन गरी काम अघि बढाउने तयारी गरिएको छ ।
पूर्वाधार विकास कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर सञ्जयकुमार यादवले आफू गत शुक्रबार मात्रै कार्यालय प्रमुखका रूपमा हाजिर भएकाले त्यसअघि योजनाको चिठी कसरी वितरण भयो भन्नेबारे जानकारी नभएको बताए । उनले पुराना चिठीको कार्बन कपी (ओसी) खोज्न समय लागेको दाबी गरे ।
इन्जिनियर यादवले योजना धेरै रहेका र आर्थिक वर्षको अन्त्यमा बजेट आउने हुँदा सीमित कर्मचारीबाट काम गर्न कठिन भइरहेको बताए। पूर्वाधार विकास कार्यालय मलङ्गवामा मधेश प्रदेश सरकारका चार सयभन्दा बढी योजना रहेको जनाइएको छ ।
पूर्वाधार विकास कार्यालयबाट योजनाको चिठी खरिद–बिक्री हुने गरेको गुनासो भने पटक–पटक उठ्दै आएको छ ।