सशस्त्र प्रहरी बलले सिराहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट करिब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जेठ २ गते राति नं. ७ गण सिराहाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा स १ ख ५३५ नम्बरको ट्रक जाँच गर्ने क्रममा नेपालबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको कस्मेटिक सामान, टुथपेस्ट तथा २ सय ६० केजी ओखरसहित ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानको मूल्य करिब १९ लाख ४७ हजार ३ सय रुपियाँ रहेको छ भने ट्रकको अन्दाजी मूल्य २१ लाख रुपियाँ रहेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ । उनीहरू ट्रकका चालक र सहचालक रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।