राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले ‘आर्थिक नगरीमा अर्थ मन्थन’ शीर्षकमा वीरगंजमा अर्थ-राजनीतिक निकासको खोजी गर्न प्रतिष्ठित उद्योगी, व्यवसायी, आर्थिक विज्ञ, विश्लेषक र प्रबुद्ध वर्गसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
कार्यक्रममा मुलुकको आर्थिक मन्दी र अर्थ-राजनीतिक समस्या समाधानका लागि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर समृद्धिका उपायहरू खोज्नमा जोड दिएकाे थियो । कार्यक्रममा संघीय संसद सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कार्यक्रममा उठेका गम्भीर विषयहरूलाई पार्टीको आर्थिक नीतिमा समावेश गर्दै तत्काल सम्बोधन गर्नका लागि सदन, अर्थ समिति र सम्बन्धित मन्त्रालयमा लबिङ थालिने जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले वर्तमान आर्थिक मन्दीका कारण र समाधानबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । सहभागितामार्फत उठाइएका महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा देशको आर्थिक सुधारका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा स्थानीय व्यवसायी र आर्थिक क्षेत्रका विज्ञहरूले अर्थतन्त्रको पुनरुत्थानका लागि नवीनतम उपाय र रणनीतिहरू प्रस्तुत गर्दै आफ्ना सुझावहरू राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले यस प्रकारका कार्यक्रमले मुलुकको आर्थिक नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमकाे सहजिकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए ।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, निवर्तमान अध्यक्ष डा. सुबोध गुप्ता, पूर्व अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल र मनोज कुमार दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, जिल्ला उपाध्यक्ष युवराज खड्का लगायत प्रतिष्ठित व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति थियो ।