एसियाली मापदण्डअनुसार चार लेनमा विस्तार भइरहेको महेन्द्र राजमार्ग अन्तर्गत मधेश प्रदेशका सर्लाही, महोत्तरी र धनुषा जिल्लामा ४७ वटा कलभर्ट निर्माण सम्पन्न भएका छन् ।
निर्माण सम्पन्न भएका कलभर्टमा यातायात सञ्चालनसमेत सुरु भइसकेको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवका अनुसार यस खण्डमा कुल १ सय वटा कलभर्ट निर्माण गर्नुपर्नेमा हालसम्म ४७ वटाको काम सम्पन्न भएको छ भने बाँकी ५३ वटाको निर्माण कार्य जारी रहेको छ ।
राजमार्गमा यसअघि रहेका लच्का (कजवे) हटाएर बक्स कलभर्ट निर्माण गरिएकाले अब पानीको निकास कलभर्टमुनिबाट हुने व्यवस्था गरिएको छ । वर्षायाम सुरु हुनुअघि नै अधिकांश कलभर्ट निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र पारिएको आयोजनाले जनाएको छ ।
कलभर्टसँगै तीन जिल्लामा पुल निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । यस खण्डका कुल ३३ वटा पुलमध्ये ३१ वटामा निर्माण कार्य जारी रहेको इन्जिनियर यादवले जानकारी दिए । यद्यपि सर्लाहीको बागमती पूर्वी पुल र महोत्तरीको लक्ष्मीनिया जंगलस्थित जर्लाही पुलको काम भने अझै सुरु हुन सकेको छैन ।
साँघुरा पुल भएका स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काएर नयाँ पुल निर्माण गरिँदै छ भने मर्मत गरेर सञ्चालन गर्न सकिने स्थानमा थप दुई लेनको नयाँ पुल थप्ने काम भइरहेको छ ।
आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले वर्षायाममा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न कठिन हुने भएकाले पुराना संरचना हटाइएका स्थानमा बर्खाअघि नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए ।
उनका अनुसार इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र बेमौसमी वर्षाका कारण निर्माण कार्यमा केही चुनौती थपिएको छ ।
हाल धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडक खण्डमा विस्तारको काम भइरहेको छ । आयोजनाको हालसम्म कुल भौतिक प्रगति २४.१५ प्रतिशत पुगेको छ ।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तार सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत पुस १६ गतेदेखि धनुषाको बडहरी र सर्लाहीको फूलजोरलगायत तीन स्थानबाट एकैसाथ स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
तीन फरक निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेका छन् भने बागमती पुलदेखि पश्चिम रौतहट हुँदै बाराको पथलैयासम्मको खण्ड विस्तारको प्रक्रिया पनि अगाडि बढाइएको छ ।
स्थापनाकालदेखि दुई लेनमा रहेको महेन्द्र राजमार्गलाई व्यापारिक तथा बजार क्षेत्रमा दुवैतर्फ साढे ६ मिटरको सर्भिस लेनसहित ६ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्ने योजना रहेको छ ।