सरकारले खेलकुद क्षेत्रका लागि रु ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै यो बजेट व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने उद्देश्यले दीर्घकालीन योजना अघि सारिएको छ ।
अर्थमन्त्री वाग्लेले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने घोषणा गरे ।
त्यस्तै, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने योजना रहेको उनले बताए । विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढी लगायतका स्थानमा कम्तीमा २ हजार दर्शक क्षमताका बहुउद्देश्यीय (मल्टिपर्पोज) रंगशाला आगामी तीन वर्षभित्र निर्माण गरिने बजेटमा उल्लेख छ ।
मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।
त्यसैगरी सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न तथा मधेश प्रदेशमा प्रस्तावित ११औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।