नेपालका पहाडी तथा ग्रामीण क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व अहिले गम्भीर समस्याका रूपमा देखा परेको छ । विशेषगरी बाँदर, बँदेल, भालु, चरा र चितुवाका कारण किसानहरू प्रत्यक्ष मारमा परिरहेका छन् । बाँदरकै कारण गाउँबस्ती रित्तिन थालेको भन्दै संसद्मासमेत विषय उठ्न थालेपछि यो समस्या राष्ट्रिय बहसको केन्द्र बनेको छ ।
वन्यजन्तु र मानवबीच आहारा, वासस्थान तथा स्रोतको उपयोगलाई लिएर हुने टकरावलाई मानव–वन्यजन्तु द्वन्द्व भनिन्छ । यो कुनै नयाँ समस्या होइन, तर पछिल्लो एक दशकमा यसको असर झन् तीव्र बन्दै गएको छ ।
विशेषगरी जङ्गल फडानी, सडक विस्तार, अव्यवस्थित पूर्वाधार निर्माण, वन अतिक्रमण र डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । परिणामस्वरूप वन्यजन्तु आहारा खोज्दै मानव बस्ती र खेतबारीतर्फ आउन थालेका छन् ।
दोलखाको गौरीशंकर संरक्षण क्षेत्रका स्थानीयका अनुसार हाइड्रोपावर निर्माण, सडक विस्तार र विस्फोटक पदार्थको प्रयोगपछि बाँदरहरू पुरानो बासस्थान छोडेर गाउँतर्फ सर्न थालेका हुन् । खेती गर्ने मानिस घट्दै जाँदा र खेतबारी बाँझो बस्दै जाँदा समस्या झन् बढेको स्थानीयको भनाइ छ । वन डढेलो, एकल खेती प्रणाली र कृषियोग्य जमिन बाँझो बस्नु पनि द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन् । अहिले मकै, आलु, गहुँजस्ता बाली वन्यजन्तुको मुख्य लक्ष्य बन्न थालेका छन् ।
यसले ग्रामीण जीवनमा गम्भीर असर पारेको छ । बाँदरले मकै र तरकारी नष्ट गर्ने, बँदेलले रातारात खेत सखाप पार्ने तथा भालु बस्ती नजिक आउँदा मानवमाथि आक्रमणसमेत हुने घटना बढेका छन् । लगातारको क्षतिका कारण धेरै किसानले खेती छोड्न थालेका छन् भने गाउँबाट सहर र विदेश पलायन बढ्दो छ । पहिले समुदायहरूले काँडेबार, सामूहिक पहरेदारी, बुख्याचा, आगो–धुवाँ, कुकुरको प्रयोग तथा विविध खेती प्रणालीमार्फत वन्यजन्तु नियन्त्रण गर्ने प्रयास गर्थे । तर ती परम्परागत अभ्यास हराउँदै जाँदा समस्या झन् जटिल बनेको छ ।
विशेषज्ञहरूका अनुसार परम्परागत ज्ञान, आधुनिक प्रविधि, स्थानीय समुदायको सक्रियता र प्रभावकारी सरकारी नीति जोड्न सके मात्रै मानव–वन्यजन्तु द्वन्द्वको दिगो समाधान सम्भव हुने देखिन्छ ।