चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु चार अर्ब दुई करोडभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्यका आधारमा आयात १४३.६० प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि भएको उनले बताए ।
गत आवको सोही अवधिमा यो नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्यका नौ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए, जसबाट रु ८१ करोड ४७ लाख राजस्व संकलन भएको थियो । चालु आवमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्, जसको मूल्य रु एक अर्ब ८७ करोड रहेको छ । यसबाट रु एक अर्ब १९ करोड राजस्व संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता सवारीसाधनको आयात निकै न्यून रहेको थियो ।
त्यस्तै, चालु आवको १० महिनामा रु एक अर्ब १७ करोड मूल्यका आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन् । यसबाट रु ३८ करोड ५५ लाख राजस्व संकलन भएको छ । गत आवमा भने चार हजार ८३४ वटा मात्र यस्ता सवारीसाधन आयात भएका थिए । सूचना अधिकारी विष्टका अनुसार वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा कुल रु ३१ अर्ब ३१ करोड मूल्यका इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आवको तुलनामा यस क्षेत्रमा सवारीसाधन तथा पार्टपुर्जाको आयात ४४.५८ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवमा मात्रै ५१ हजारभन्दा बढी मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन्, जसबाट पनि राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।