नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालयन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण सोमबारदेखि ललितपुरमा सुरु भएको छ । कार्यक्रमले नेपाललाई विश्व पर्यटन बजारमा अझ मजबुत रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा आयोजित उक्त मार्टमा २७ देशबाट आएका १०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन् । सहभागीमध्ये ७५ जना ग्लोबल बायर (खरिदकर्ता) तथा ८० भन्दा बढी प्रदर्शक संस्थाका प्रतिनिधिहरू रहेका छन् ।
यस वर्षको मार्टको मुख्य विषय ‘न्यु फ्रन्टियर्स इन टुरिजम’ रहेको छ। कार्यक्रमले नेपालका पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय खरिदकर्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन क्षेत्रका नयाँ सम्भावना, प्रवृत्ति र अवसरबारे छलफल गर्ने उद्देश्य लिएको छ ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले विश्व पर्यटन उद्योग तीव्र गतिमा परिवर्तन भइरहेको उल्लेख गर्दै नेपालले दिगो, पुनर्जागरणमुखी, स्वास्थ्य तथा कल्याणमा आधारित तथा प्रामाणिक पर्यटन अनुभवको बढ्दो मागलाई अवसरका रूपमा लिनुपर्ने बताए ।
उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक महत्वले विश्व पर्यटन बजारमा देशलाई विशेष पहिचान दिलाएको उल्लेख गर्दै भने, “हामी केवल पर्यटक संख्या बढाउने मात्र होइन, दिगो, समावेशी र समुदायमैत्री पर्यटन विकास गर्न चाहन्छौं ।”
यस वर्षदेखि परम्परागत एकदिने सम्मेलनलाई रूपान्तरण गरी ‘एचटीएम इन्साइट फोरम’ सुरु गरिएको छ । उक्त फोरमले पर्यटन क्षेत्रका सरोकारवालाबीच गहन संवाद, ज्ञान आदानप्रदान र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नेपाललाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा चित्रण गर्दै बुडालले ट्रेकिङ, पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङलगायत गतिविधिले देशलाई अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान दिलाएको बताए ।
मार्टअन्तर्गत साहसिक पर्यटन, दिगोपन, वेलनेस पर्यटन, MICE पर्यटन, डेस्टिनेसन वेडिङ, डिजिटल भुक्तानी प्रणाली तथा पुनर्जागरणमुखी पर्यटनका विषयमा छलफल हुने जनाइएको छ । कार्यक्रमले अन्तर्राष्ट्रिय साझेदारी विस्तार, व्यावसायिक अवसर सिर्जना तथा विश्व पर्यटन बजारमा नेपालको उपस्थिति थप सुदृढ बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।