चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ ।
यस अवधिमा विभिन्न सात प्रकारका दलहन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा दलहन आयात मूल्यका आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले घटेको छ । गत आवको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु १० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा मुसुरो दालको आयात सबैभन्दा बढी भएको छ । यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य बराबरको मुसुरो दाल आयात भएको छ । गत आवको सोही अवधिमा भने रु चार अर्ब ५० करोड मूल्य बराबरको मुसुरो दाल आयात भएको थियो ।
त्यसैगरी, चालु आवको १० महिनामा रु दुई अर्ब चार करोड मूल्य बराबरको सिमी तथा राजमा आयात भएको छ । गत वर्षको सोही अवधिमा रु दुई अर्ब ७४ करोड बराबरको सिमी तथा राजमा आयात भएको थियो ।
यस्तै, चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोड मूल्य बराबरको चना आयात भएको छ । गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोड बराबरको चना आयात भएको थियो ।
भन्सार कार्यालयका अनुसार चालु आवको १० महिनामा रु ४२ करोड मूल्य बराबरको अन्य गेडागुडी आयात भएको छ । गत आवको सोही अवधिमा भने रु ४५ करोड ८८ लाख बराबरको अन्य गेडागुडी आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।