सरकारले स्थलमार्गबाट नेपाल भित्र्याइने निजी प्रयोगका सामानमा दिँदै आएको भन्सार छुटको सीमा बढाएको छ ।
यसअघि १०० रुपैयाँसम्मका सामानमा मात्र छुटको व्यवस्था रहेकामा अब उक्त सीमा बढाएर ५०० रुपैयाँ कायम गरिएको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याउँदा वा लैजाँदा भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
सरकारले भारतबाट किनमेल गरेर ल्याइने सामानमा भन्सार सम्बन्धी नियमको कडाइका साथ कार्यान्वयन थालेपछि विशेषगरी सीमावर्ती क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुको खरिदमा सहुलियत दिनुपर्ने माग गर्दै आएका थिए । त्यसपछि सरकारले छुटको सीमा पुनरावलोकन गरेको हो ।
गत वर्ष जेठ महिनामा राजपत्रमार्फत स्थलमार्गबाट सीमा ओहोरदोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिने व्यवस्था गरिएको भए पनि व्यवहारमा साना किनमेलका सामानमा भन्सार नलाग्ने अभ्यास रहेको थियो । तर पछिल्लो समय सरकारले यसको कार्यान्वयनमा कडाइ गरेपछि सीमा क्षेत्रका बासिन्दाबीच असन्तुष्टि र तनावसमेत देखिएको थियो ।
विशेषगरी तराई–मधेशका सीमावर्ती जिल्लाका नागरिकहरू दैनिक उपभोग्य सामग्री, लत्ताकपडा तथा अन्य आवश्यक सामान खरिदका लागि भारत जाने गरेका छन् । यस्तै, सीमापार वैवाहिक सम्बन्ध भएका परिवारहरूले माइती वा आफन्तबाट ल्याइने उपहारमा समेत भन्सार तिर्नुपरेको गुनासो गर्दै आएका थिए ।
सरकारको नयाँ निर्णयले सीमावर्ती क्षेत्रका नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ भने साना व्यक्तिगत प्रयोगका सामानको आवतजावतलाई सहज बनाउने विश्वास गरिएको छ ।