तीन साताको अवरोधपछि खुकुलो बनाइएको नेपाली चिया निर्यातमा भारतले पुनः अवरोध सुरु गरेको छ ।
भारतीय चिया बोर्ड (टी बोर्ड अफ इन्डिया) ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि नेपाली व्यवसायीले निर्यात रोक्न थालेका हुन् । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट प्रत्येक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउन थालिएको छ । परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको उनले बताए ।
यसअघि भारतीय चिया बोर्डले १८ वैशाखदेखि नेपालबाट भारत निर्यात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले फेरि भारतीय अधिकारीहरू गोदाममै पुगेर नमुना संकलन गर्न थालेपछि व्यवसायी अन्योलमा परेका छन् । कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन नआएको व्यवसायीहरूले बताएका छन् । हाल करिब ५० हजार किलो नेपाली चिया भारतीय गोदाममै रोकिएको छ ।
‘गोदाममै गएर नमुना संकलन गर्न थालेपछि व्यापारीहरू नै नेपाली चिया किन्न हच्किएका छन्,’ गुप्ताले भने, ‘नेपाली चिया भारतीय व्यापारीले नकिनून् भन्ने बोर्डको नियत प्रस्ट देखिन्छ ।’ उनका अनुसार परीक्षणको नतिजा मापदण्डअनुसार नआए सामान नष्ट गर्नुपर्ने जोखिम रहने भएकाले व्यवसायीले नयाँ निर्यातका लागि फारामसमेत पेस गर्न छाडेका छन् । यसको असर मुख्यतया अर्थोडक्स चिया निर्यातमा परेको छ । अहिले हरियो पत्तीको उपलब्धता घटेकाले सीटीसी चियाको उत्पादन करिब ५० प्रतिशतले घटेको व्यवसायीहरूको भनाइ छ । भारत निर्यात भइरहेको अधिकांश चिया अर्थोडक्स नै हो ।


यसअघि भारतीय चिया बोर्डले आयातकर्तालाई ‘टी काउन्सिल’ पोर्टलमार्फत चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी अनिवार्य बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो । नेपाली व्यवसायीहरूले यसलाई गैरभन्सार अवरोधको रूपमा व्याख्या गर्दै आएका छन् । नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने नेपाल चिया विकास निगम क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ ।
गत आर्थिक वर्षमा लुपर कीराको प्रकोपका कारण चिया उत्पादन २५ देखि ३० प्रतिशतले घटेको थियो । बढ्दो उत्पादन लागतका कारण किसान वैकल्पिक बालीतर्फ आकर्षित हुन थालेका छन् । भारतले गत मे १ देखि नेपालसहित सबै देशबाट आयात हुने चियामा अनिवार्य परीक्षण प्रणाली लागू गरेको थियो । त्यसपछि नेपाल र भारतबीच कूटनीतिक पहल भएपछि मे २० मा भारतले कार्यविधि परिमार्जन गर्दै आन्तरिक उपभोगका लागि आयात हुने चियालाई अनिवार्य परीक्षणबाट छुट दिएको थियो ।
तर पछिल्लो घटनाक्रमले औपचारिक सूचना नआए पनि व्यवहारिक रूपमा परीक्षण प्रणाली पुनः लागू गरिएको देखिएको सरोकारवालाहरूको भनाइ छ । नेपालले वार्षिक ७ हजार ८ सय ३८ टन अर्थोडक्स चिया उत्पादन गर्ने गरेको छ । तेस्रो मुलुकमा हुने निर्यात कुल अर्थोडक्स चिया निर्यातको ११.४ प्रतिशत मात्र रहेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले ३.३५ अर्ब रुपैयाँ बराबरको ११ हजार ३ सय ९३ टन चिया निर्यात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । गत वर्ष सोही अवधिमा ३.९७ अर्ब रुपैयाँ बराबरको १४ हजार ३० टन चिया निर्यात भएको थियो ।
खाद्य परीक्षण प्रमाणपत्रको द्विपक्षीय मान्यतामा केही प्रगति भए पनि बारम्बार दोहोरिने परीक्षण प्रक्रियाले नेपाली चिया निर्यातकर्तालाई ठूलो समस्या बनिरहेको व्यवसायीहरूले बताएका छन् ।