बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट प्राप्त हुने आम्दानीको हिसाबकिताबमा गम्भीर प्रश्न उठेको छ ।
विद्यालयको अडिट प्रतिवेदनमा लाखौँ रुपैयाँ बराबरको धानबाली रकम बक्यौता देखिएपछि आर्थिक अनियमितताको आशंका बढेको हो । गत आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विद्यालयले विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख २८ हजार २५० रुपैयाँ बराबरको धानबाली असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ । तर सम्बन्धित जोताहाहरूले भने आफूहरूले रकम बुझाइसकेको दाबी गरेका छन् । यसले विद्यालयको आर्थिक अभिलेख र वास्तविक कारोबारबीच गम्भीर विरोधाभास देखिएको छ ।
प्रतिवेदनअनुसार विद्यालयको जग्गाबाट वार्षिक ३४१ क्विन्टल २२ किलो धान प्राप्त हुनुपर्ने व्यवस्था छ । प्रतिक्विन्टल ३ हजार रुपैयाँका दरले विद्यालयले प्रत्येक वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्ने भए पनि त्यसको स्पष्ट अभिलेख उपलब्ध नभएको पाइएको छ ।
सबैभन्दा ठूलो बक्यौता जोताहा उपेन्द्र प्रसाद चौधरीको नाममा १९ लाख २ हजार ६ सय रुपैयाँ देखाइएको छ । अडिट प्रतिवेदनमा उनले कुतबाली नतिरी जग्गा छाडिसकेको उल्लेख गरिए पनि विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले उक्त विवरण तथ्यगत रूपमा गलत रहेको र चौधरी अझै पनि जग्गा जोतभोग गरिरहेको बताएका छन् । यसले अडिट प्रतिवेदनको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ । यस्तै अर्का जोताहा रामरुप प्रसाद चौधरीको नाममा १२ लाख ९० हजार ९ सय ९० रुपैयाँ बक्यौता देखाइएको छ । तर उनले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डललाई स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको रोहबरमा रकम बुझाएको दाबी गरेका छन् । यद्यपि, रकम बुझाएको कुनै आधिकारिक रसिद भने उपलब्ध छैन ।
त्यसैगरी अर्का जोताहा सिकेन्द्र सहनीले पनि आफ्नो तर्फको रकम बैंक खातामार्फत जम्मा गरेको दाबी गरेका छन् । तर अडिट प्रतिवेदनमा उनको नाममा ३ लाख ६६ हजार २ सय १० रुपैयाँ बक्यौता देखाइएको छ । अडिट प्रतिवेदनअनुसार बैद्यनाथ सहनीको नाममा ४ लाख २१ हजार ८ सय रुपैयाँ तथा प्रधुमन प्रसाद चौधरीको नाममा ५० हजार ७ सय रुपैयाँ बक्यौता रहेको उल्लेख छ ।
उल्लेखित पाँच जनाको नाममा मात्रै १ हजार ३ सय ४२ क्विन्टल ७५ किलो धानबाली बराबर ४० लाख २८ हजार २५० रुपैयाँ बक्यौता देखाइएको छ । जोताहाहरूले रकम बुझाएको दाबी गर्नु, विद्यालयमा अभिलेखको अभाव हुनु तथा रसिद नहुनुले विद्यालयको आर्थिक व्यवस्थापनमाथि थप आशंका उब्जाएको छ ।
यो प्रकरणले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डल, तत्कालीन प्रधानाध्यापक मोतिलाल यादव तथा लेखापाल राकेश यादवको कार्यकालमा भएका आर्थिक कारोबारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ । स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको सम्पूर्ण आर्थिक कारोबारको स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न, जग्गाबाट प्राप्त आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्न तथा दोषी देखिने जो–कोहीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
यता, यस विषयमा विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीसँग प्रतिक्रिया लिन खोज्दा उनले सार्वजनिक रूपमा केही बोल्न चाहेनन् । विद्यालयको खातामा नदेखिएको लाखौँ रुपैयाँ वास्तवमै उठेको थियो वा थिएन, उठेको भए कहाँ गयो र अभिलेख किन भेटिएन भन्ने प्रश्नहरूको जवाफ सम्बन्धित निकायको छानबिनपछि मात्रै स्पष्ट हुने देखिएको छ । हाल उपलब्ध तथ्यहरूले भने विद्यालयको आर्थिक प्रशासनमा गम्भीर अनियमितता भएको आशंकालाई थप बल पुर्याएको छ ।