विश्वकप फुटबल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा ‘नि:शुल्क खेल हेर्न सकिने’ भन्दै भ्रमपूर्ण स्क्याम विज्ञापन तीव्र रूपमा फैलिन थालेका छन् ।
आकर्षक अफर र निःशुल्क हेर्न पाइने प्रलोभन देखाएर प्रयोगकर्तालाई फसाउने यस्ता लिंक क्लिक गर्दा तथा अनधिकृत एप डाउनलोड गर्दा मोबाइल र कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि भएको छ ।
चाबहिलका अनिल डंगोल महर्जनले फेसबुकमा देखिएको ‘एनबीटीभी’ नामक विज्ञापनमार्फत नि:शुल्क विश्वकप हेर्न सकिने लिंक क्लिक गर्दा मोबाइल ह्याङ भएको र पछि बैंक खाताबाट तीन लाख रुपैयाँ चोरी भएको अनुभव सुनाएका छन् । उनका अनुसार माछापुच्छ्रे बैंकबाट १ लाख र नेपाल बैंकबाट २ लाख रुपैयाँ गरी कुल तीन लाख रुपैयाँ काटिएको थियो । घटनापछि मोबाइल लगातार स्लो भइरहने, अनधिकृत म्यासेज आउने र रिस्टार्ट गर्दा समेत समस्या समाधान नहुने जस्ता समस्या देखिएको उनले बताएका छन् । उनले आफ्नो मोबाइल बैंकिङ र डिभाइसमा अनधिकृत पहुँच भएको आशंका गरेका छन् ।
यस्तै, काभ्रेका एक युवकको मोबाइलमा पनि यस्तै स्क्याम एप इन्स्टल गर्दा डिभाइस ह्याक भई तीन लाख रुपैयाँसम्म चोरी भएको घटना सार्वजनिक भएको छ । उनका अनुसार एप इन्स्टल र अपडेट गर्ने बित्तिकै मोबाइल तातेर आफैँ बन्द हुने, रिस्टार्ट भएपछि मोबाइल बैंकिङ एप आफैँ खुल्ने जस्ता गतिविधि देखिएका थिए । साइबर ब्युरोका अनुसार पछिल्लो १० देखि १२ दिनमा मात्रै विश्वकपको नाममा करिब ७५ लाख रुपैयाँ ठगी भइसकेको छ। यस अवधिमा करिब ५० वटा उजुरी दर्ता भएका छन् ।
प्रहरीले फेसबुक, म्यासेन्जर तथा अन्य सामाजिक सञ्जालमा ‘वर्ल्ड कप लाइभ फ्री’ भन्दै आउने विज्ञापन र फिसिङ लिंकमा क्लिक नगर्न आग्रह गरेको छ । यस्ता लिंकमार्फत अनुमति दिँदा ह्याकरले मोबाइलमा पहुँच पाउने र बैंक खाता खाली गर्ने जोखिम रहने साइबर ब्युरोले जनाएको छ । नेपालमा एसप्रो मिडिया ले विश्वकप फुटबल २०२६ का आधिकारिक प्रसारण अधिकार पाएको छ। खेलहरू हिमालय स्पोर्ट्स एचडी टिभी च्यानल र डीजीगो मोबाइल एपमार्फत मात्र हेर्न सकिनेछ ।
सबै १०४ खेल हेर्न टिभीमा ९९९ रुपैयाँ शुल्क लाग्नेछ भने मोबाइल वा ल्यापटपमा हेर्न ५४९ देखि ९९९ रुपैयाँसम्मको प्याकेज उपलब्ध छ । अन्य कुनै अनधिकृत प्लेटफर्म वा लिंकमार्फत खेल उपलब्ध नहुने प्रहरीले स्पष्ट पारेको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो त्रैमासिक अवधिमा मात्रै हजारौँ साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । फेसबुक र म्यासेन्जरमार्फत हुने ठगी सबैभन्दा बढी देखिएको छ ।
प्रहरीले अपरिचित लिंक क्लिक नगर्न, APK फाइल डाउनलोड नगर्न र आधिकारिक एप तथा च्यानल मात्र प्रयोग गर्न आग्रह गर्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ ।