हरि खेतान बहुमुखी क्याम्पस मा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन, शैक्षिक गतिविधि तथा संस्थागत विकासका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जयप्रकाश खेतानलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गर्दै क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. रामऔतार खेतानले हरि खेतान बहुमुखी क्याम्पसलाई प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष हरि प्रसाद गौतमले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै संस्थाको समग्र विकासमा योगदान पुर्याउने बताउनुभयो ।
सदस्य सचिव किशोरी रायले क्याम्पसको प्रशासनिक कार्यलाई थप प्रभावकारी र पारदर्शी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष र परिणाममुखी बनाइने धारणा राख्नुभयो ।
त्यसैगरी सल्लाहकार जयप्रकाश खेतानले क्याम्पसको दीर्घकालीन विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी पदाधिकारीहरूले क्याम्पसको हित, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासलाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा समर्पित भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
