काठमाडौं | नेपाल र भारतबीच प्रत्यक्ष रूपमा रकम पठाउन तथा प्राप्त गर्न सकिने ‘क्रस बोर्डर डिजिटल पेमेन्ट’ सेवा औपचारिक रूपमा सुरु भएको छ ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) प्रणालीबीच अन्तर–आबद्धता गरिएपछि अब दुवै देशबीच बैंक खातामार्फत प्रत्यक्ष रकम पठाउन सकिने भएको हो ।
यो सेवा नेपाल र भारतबीच २०८० सालमा भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत सञ्चालनमा ल्याइएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार हालका लागि यो सुविधा नेपालमा कार्यरत वा अस्थायी बसोबास गरिरहेका भारतीय नागरिकले प्रयोग गर्न सक्नेछन् ।
उनका अनुसार नेपालबाट भारतीयहरूले प्रतिपटक १५ हजार भारतीय रुपैयाँसम्म पठाउन सक्नेछन् भने नेपालबाट मासिक दुई लाख भारतीय रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, भारतमा रोजगारी वा बसोबास गरिरहेका नेपालीहरूले पनि प्रतिपटक दुई लाख भारतीय रुपैयाँसम्म नेपाल पठाउन सक्ने व्यवस्था गरिएको प्रधानले जानकारी दिए ।हाल यो सेवा नेपालका करिब आधा दर्जन बैंकमार्फत उपलब्ध गराइएको छ। बैंक खाताबाट सीधै बैंक खातामा रकम पठाउन सकिने सुविधा रहेको जनाइएको छ ।
यसअघि भारतबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाइसकेका थिए। तर नेपालबाट भारत जाने नेपालीहरूले भने अझै भारतमा क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाएका छैनन् ।