हनुमाननगर कङ्कालिनी नगरपालिका–५ जोगिनिया टोलमा मङ्गलबार भएको आगलागीमा पाँच परिवारका घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय दुखु खंगको चारकोठे घरमा विद्युत् तार सर्ट भई अचानक आगलागी सुरु भएको थियो । आगो तीव्र रूपमा फैलिँदा नजिकैका अन्य घरहरूमा समेत सल्किएर पाँच परिवारको सम्पत्ति नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रवक्ता डीएसपी विजयकुमार कार्की का अनुसार आगलागीबाट करिब ४३ लाख ९३ हजार ५ रुपैयाँ बराबरको क्षति भएको छ ।
दुखु खंगको घरसँगै दुई वटा बाख्रा र एक वटा गाई जलेर मरेका छन् भने तीन वटा गाई घाइते भएका छन् । त्यसैगरी लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत सामग्री नष्ट हुँदा करिब ७ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी सदमलाल खंगको घर पूर्ण रूपमा जलेर नष्ट हुँदा दुई वटा खसी मरेका छन् भने करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बच्चु खंगको घर र सामग्री जलेर करिब ११ लाख ३६ हजार रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
लखन खंगको बाँसको टाटी र टिनको छानो भएको दुईकोठे घर जलेर करिब ८ लाख ४८ हजार रुपैयाँ क्षति भएको छ भने नारायण खंगको घरमा समेत आगलागी भई करिब ५ लाख २९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासी, नेपाल प्रहरी तथा हनुमाननगर कङ्कालिनी नगरपालिका र कञ्चनपुर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।