सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कुनै पनि व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन स्पष्ट निर्देशन दिएको हो । केन्द्रका अनुसार विभिन्न उजुरी तथा गुनासामा विद्यालयहरूले विद्यार्थीका व्यक्तिगत विवरण शैक्षिक परामर्श दातृ संस्था, ट्युसन सेन्टर तथा विभिन्न व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराएको पाइएको छ । यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक दबाब पर्ने गरेको पनि उल्लेख गरिएको छ ।
केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीहरूको गोपनीयता संरक्षण, सुरक्षित शैक्षिक वातावरण निर्माण तथा अनावश्यक बाह्य प्रभावबाट जोगाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ ।
साथै, उक्त परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत निर्देशन पठाइएको केन्द्रले जनाएको छ ।