काठमाडौं । काठमाडौँको व्यस्त सडकमा ट्राफिक जामका बीच पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे र एक कन्टेन्ट क्रियटरबीच भएको रोचक संवादको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
‘जामकास्ट विथ प्रबिन’ नामक च्यानलमार्फत सडकमा गुडिरहेका महँगा गाडीका चालक तथा यात्रुसँग उनीहरूको पेशाबारे प्रश्न गर्ने कन्टेन्ट क्रियटरले संयोगवश पाण्डे सवार गाडीमा पुगेर कुराकानी गरेका थिए ।
भिडियोमा क्रियटरले सुरुमा पाण्डेलाई नचिनी अन्य व्यक्तिलाई जस्तै ‘तपाईंको जागिर वा व्यवसाय के हो ?’ भन्ने प्रश्न गरेका थिए। जवाफमा पाण्डेले आफू जागिरे नभएको बताएका थिए ।
पछि क्रियटरले नाम सोध्दा पाण्डेले ‘म सुरेन्द्र पाण्डे’ भनेपछि मात्र उनलाई नेताको रूपमा चिनेको देखिन्छ । त्यसपछि भएको छोटो संवादमा पाण्डेले युवाहरूलाई अरूको देखासिकी नगरी आफू दक्ष भएको क्षेत्रमा मेहनत गर्न र देशमै बसेर अवसर सिर्जना गर्न सुझाव दिएका थिए ।
भिडियो सामाजिक सञ्जालमा चर्चित बनेपछि पाण्डेले पनि फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले रमाइलो शैलीमा लेखेका छन्, “म जागिरे होइन, अहिले पीएचडीको विद्यार्थी हुँ। अब यो ट्राफिक जाममा बाटोमै यो भाइलाई कसरी सम्झाउने ? जाममा इन्टरभ्यू लिने नयाँ ट्रेन्ड देख्दै छु त आज !”
सामाजिक सञ्जालमा उक्त भिडियोप्रति प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । कतिपयले पाण्डेको सरल र शालीन प्रस्तुतिको प्रशंसा गरेका छन् भने कतिपयले सडकमा हुने यस्ता आकस्मिक अन्तर्वार्ताको नयाँ शैलीबारे टिप्पणी गरेका छन् । छोटो कुराकानी :