काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्वासी परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न अल्टिमेटम दिएको छ । समितिले होल्डिङ सेन्टर परिसरमा सूचना टाँस गरेपछि त्यहाँ बसोबास गरिरहेका परिवारमा त्रास र अन्योल बढेको छ ।
समितिले मंगलबार सूचना टाँस गर्दै प्रकाशन भएको पाँच दिनभित्र स्वःव्यवस्थापन गरी होल्डिङ सेन्टर खाली गर्न आग्रह गरेको हो । सूचनापछि आफूहरू अब कहाँ जाने भन्ने चिन्तामा परेको स्थानीय डम्मबर तामाङले बताए । उनका अनुसार बालबालिका नजिकैको विद्यालयमा भर्ना भइसकेका छन् भने परिवारको भविष्य अन्योलमा परेको छ ।
समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले भने सूचनाको आशय तत्काल भवन खाली गराउने नभएको स्पष्ट पारे । उनका अनुसार सरकारको निर्णयअनुसार प्रभावित परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाउन निवेदन संकलनका लागि सूचना जारी गरिएको हो ।
‘पाँच दिनभित्र अनिवार्य रूपमा खाली गर भनिएको होइन,’ बानियाँले भने, ‘सरकारले दिने २५ हजार रुपैयाँका लागि निवेदन संकलन गरिनेछ । त्यसपछि बसोबासका लागि कोठा खोजिसकेपछि उक्त रकम उपलब्ध गराइनेछ ।’
गत वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौँ उपत्यकाका नदी किनारका विभिन्न जोखिमयुक्त बस्ती हटाइएपछि विस्थापित भएका परिवारलाई कीर्तिपुर, रानीवन, काभ्रे, भक्तपुर तथा केहीलाई होटलमा समेत अस्थायी रूपमा राखिएको थियो ।
समितिका अनुसार सबै स्थानमा रहेका प्रभावित परिवारलाई क्रमशः स्वःव्यवस्थापन गर्न आग्रह गरिएको छ ।
कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका मदन कामीले भने तोकिएको अवधिभित्र वैकल्पिक व्यवस्था गर्न नसक्ने अवस्था रहेको बताए । ‘सुकुम्वासी भएको थाहा पाएपछि धेरै घरधनीले कोठा दिन मान्दैनन् । हामीसँग जाने ठाउँ छैन,’ उनले भने, ‘महिला तथा ज्येष्ठ नागरिकहरूले समेत यहीं बस्ने अडान लिएका छन् ।’
कीर्तिपुरमा आश्रय लिइरहेका विस्थापित परिवारको व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको भए पनि आर्थिक अभावका कारण नियमित खाद्यान्न व्यवस्थापन गर्न नसकेको बताइएको छ । हाल शान्ति सेवा नामक संस्थाले प्रभावित परिवारलाई भोजन उपलब्ध गराउँदै आएको छ ।
विस्थापित परिवारले वैकल्पिक बसोबासको सुनिश्चित व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै सरकार र सम्बन्धित निकायसँग दीर्घकालीन समाधानको माग गरेका छन् ।