आधुनिक छाताको बढ्दो प्रयोगसँगै रौतहटका पहाडिया समुदायले घाम र वर्षाबाट जोगिन प्रयोग गर्दै आएको परम्परागत ओढो ‘घुम’ लोपोन्मुख बन्दै गएको छ । कुनै समय ग्रामीण जीवनको अभिन्न अंग मानिने घुम अहिले प्रयोगबाट लगभग विस्थापित भएको छ ।
केही दशकअघिसम्म वर्षायाम सुरु हुनासाथ गाउँघरका मानिसहरू मेलापात, खेतबारी तथा हाटबजार जाँदा टाउकोदेखि शरीरसम्म ढाक्ने गरी बाँसको चोया र भोर्लाको पातबाट बनाइएको ‘घुम’ ओढ्ने गर्थे। घुमले घाम र वर्षाबाट सुरक्षा दिनुका साथै ग्रामीण जीवनको मौलिक पहिचान पनि बोकेको थियो । तर समयसँगै आधुनिक छाताको प्रयोग बढेपछि यसको चलन हराउँदै गएको छ ।
चन्द्रपुर नगरपालिका–३ का ज्येष्ठ नागरिक बुद्धिबहादुर थिङले घुम ओढेर मेलापात गएका दिन सम्झिँदै भन्नुभयो, “भोर्लाको पात मोहोरेर बाँसको चोयाबाट घुम बनाउने सीप हामीले सिकेका थियौँ । अहिले ती दिन सम्झनामै सीमित भएका छन् । छाता सहज र प्रयोगमैत्री भएपछि सबैले त्यही प्रयोग गर्न थाले । गाउँका अधिकांश घरमा बनाइने घुम अहिले ओढ्ने मानिस मात्र होइन, बनाउने सीपसमेत दुर्लभ बन्दै गएको छ । पुस्तान्तरण हुन नसक्दा यो परम्परागत ज्ञान हराउँदै गएको छ ।”
गुजरा नगरपालिका–कटानीकी किशोरी निर्मला सिवाकोटीका अनुसार अहिलेको पुस्ताको पहिलो रोजाइ छाता बनेको छ । “गर्मी छल्न र वर्षामा पानीबाट बच्न छाता नै सजिलो लाग्छ । मैले अहिलेसम्म घुम देखेकी पनि छैन । हजुरआमाबाट यसको बारेमा सुनेकी हुँ, तर हाम्रो पुस्तामा यसको प्रयोग देखिएको छैन,” उहाँले भन्नुभयो ।
जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरका विद्यार्थी रुपेश चौधरीले झोलामा सजिलै राख्न मिल्ने र बोक्न सहज भएकाले छाता युवापुस्तामाझ लोकप्रिय बनेको बताउनुभयो । उहाँका अनुसार बजारमा विभिन्न रङ, आकार र डिजाइनका छाता सहजै उपलब्ध भएकाले नयाँ पुस्ता घुमबारे अनभिज्ञ छ। यद्यपि रौतहटका दक्षिणी भेगका थारु तथा मधेशी समुदायका केही ज्येष्ठ नागरिकले बाँसका चोया र पातबाट बनाइने परम्परागत छतरी अझै प्रयोग गर्दै आएका छन् ।
मा.वि. जुडिबेलाका शिक्षक गोपाल आचार्यका अनुसार घुमको प्रयोग हराउनु एउटा वस्तुको प्रयोग घट्नु मात्र होइन, पुस्तौँदेखि जोगिँदै आएको मौलिक सीप, प्रविधि र सांस्कृतिक पहिचान नै संकटमा पर्नु हो । “परम्परागत ज्ञान र सीपको संरक्षण गर्न नसके भावी पुस्ताले ‘घुम’ को नामसमेत थाहा नपाउने अवस्था आउन सक्छ,” उहाँले बताउनुभयो ।