अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन् ।
गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न निर्देशन दिए । उनले पुँजी बजारमा लगानीकर्ताको हित र लगानीको सुरक्षा सुनिश्चित गर्नु बोर्डको प्रमुख दायित्व भएको उल्लेख गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माण गर्न विशेष ध्यान दिन आग्रह गरे ।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस् । म साथमा छु, सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने ।
उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए । साथै बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्ति नियन्त्रण गर्दै बजारमा विश्वासको वातावरण कायम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति तथा अर्थ मन्त्रालयको मार्गदर्शनअनुसार पुँजी बजारको विकास र विस्तारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूर्ण रूपमा उपयोग गर्ने बताए ।