भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ मूल्य बराबरका ३५ थान आइफोन रुपन्देहीबाट प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको विशेष प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा जाँच गर्ने क्रममा उक्त अवैध सामग्री बरामद गरेको हो । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। जाँचका क्रममा भन्सार छली गरी ल्याइएका एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन फेला परेका हुन् ।
बरामद गरिएका आइफोनहरूको बजार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सबै आइफोन र ओसारपसारमा प्रयोग गरिएको भारतीय मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध तस्करी नियन्त्रणका लागि निगरानी र सुरक्षा गतिविधि थप सुदृढ बनाइएको जनाएको छ ।