स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि प्रभावकारी रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टसँग भेट गर्दै पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको हो ।
भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले निर्धारण गरेका उद्देश्य र प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । स्टक ब्रोकर्स एसोसिएसनद्वारा जारी विज्ञप्तिअनुसार पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिमा बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने दिशामा नेपाल धितोपत्र बोर्ड सक्रियतापूर्वक अघि बढ्ने अपेक्षा गरिएको उल्लेख छ । सो अवसरमा एसोसिएसनका अध्यक्ष ढकालले पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव, सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
भेटका क्रममा नेपाल सरकारको बजेटमा समेटिएका पुँजी बजार विकाससम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको थियो ।
एसोसिएसनले अध्यक्ष भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।