नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु मर्जरपछिको व्यवस्थापनप्रति असन्तुष्ट हुँदै देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले कर्मचारीका समस्याहरू समाधान गर्न नसकेको आरोप लगाउँदै कर्मचारीहरूले सातै प्रदेशका अधिकांश शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको संस्थामा सात महिनाभित्रै कर्मचारीहरूले व्यवस्थापनको लापरवाही र कमजोर नेतृत्वको विरोध गर्दै विभिन्न समयमा आन्दोलन चर्काउँदै आएका हुन् ।
कर्मचारीहरूको दाबी अनुसार, शाखा कार्यालयमा कार्यरत कमजोर कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृतसहितको समूहले विभिन्न बहानामा मानसिक यातना दिएको छ ।
साविक नेरुडे लघुवित्तका कर्मचारीहरूको आन्दोलनलाई कर्मचारी संगठन र सामाजिक अभियन्ताहरूले समर्थन जनाइरहेका छन् । व्यवस्थापनले वार्तामा चासो नदेखाएको र प्रहरी प्रशासनको प्रयोग गरी आन्दोलन दबाउने प्रयास गरिएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।
यदि समस्या समाधान नभए आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी पनि आन्दोलित समूहले दिएको छ ।