काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँग सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजान चाहेको बताएका छन् ।
नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालसँग लामो समयदेखि विभिन्न विकास क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीप्रति आभार व्यक्त गरे ।
उनले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल विकासका क्षेत्रमा युएनडीपीले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।
“नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धेरै धन्यवाद। आज ६० वर्ष पुगेको यो सहकार्य आगामी १०० वर्षसम्म निरन्तर रहोस् भन्ने मेरो शुभकामना छ,” अर्थमन्त्री वाग्लेले भने ।
उनले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर हुने विकास सहकार्यलाई केवल आर्थिक लगानीको दृष्टिकोणबाट मात्र हेर्न नहुने उल्लेख गर्दै यसलाई अन्तरदेशीय साझेदारी, अनुभव आदान–प्रदान र दीर्घकालीन विकास समन्वयको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे ।
अर्थमन्त्री वाग्लेले आफूले पनि जीवनको महत्वपूर्ण समय युएनडीपीसँग बिताएको स्मरण गर्दै नेपालका विकास प्रयासमा संस्थाले पुर्याएको सहयोगको प्रशंसा गरे ।
कार्यक्रमका अवसरमा उनले नेपालमा युएनडीपीले विगत ६० वर्षमा गरेका विकासात्मक गतिविधि र उपलब्धिहरू समेटिएको फोटो पुस्तक ‘६० वर्षको सहयात्रा’ सार्वजनिक गरेका थिए ।