मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन् ।
बाढीले बगाएको स्कुटर फेला परेको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवा र लेदोले पुरिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा शव फेला पारेको हो ।
घटना असार २९ गते अपराह्न करिब ३ बजेतिर भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिए पनि खोलाको तीव्र बहाव, निरन्तर वर्षा तथा प्रतिकूल मौसमका कारण पहिलो दिन चालकको खोजी सफल हुन सकेको थिएन । यसअघि खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो। त्यसपछि सुरक्षा निकायले खोजी कार्यलाई थप तीव्र बनाएको थियो ।
प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर सर्लाहीको बागमती नगरपालिका–१ ट्यांकीचोक निवासी महेशकुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको थियो ।
शव फेला परेसँगै मृतक महेशकुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घटनास्थलमा पुगेका परिवारका सदस्यहरूले शवको पहिचान गरेका हुन् । प्रहरीका अनुसार बाढीले स्कुटरसहित चालकलाई बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए । खोजीका क्रममा शव बालुवा र लेदोले पुरिएको अवस्थामा फेला परेको हो ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।