नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव गलत भएको बताएका छन् ।
ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेस’ कार्यक्रम तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले तीनवटै दल मिलेर प्रदेश सरकार बनाउँदा नागरिकले दिएको जनादेशको भावना विपरीत हुने बताए ।
“अहिले एउटा प्रस्ताव आइरहेको छ– तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भन्यौं, यो गलत हुन्छ । यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ,” थापाले भने । उनले तीन दल मिलेर प्रदेश सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । बागमती प्रदेश सरकारको विषयमा सोधिएको प्रश्नमा उनले कांग्रेस सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे ।
सभापति थापाले कांग्रेसले आफ्नो सोच र प्राथमिकता परिवर्तन गर्न खोजिरहेको पनि बताए। उनका अनुसार पार्टीले जनताको अपेक्षा र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्नेछ ।
यसअघि कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउँदै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ । नेकपा एमालेसँग विगतमा भएको सहमतिलाई निरन्तरता दिने विषयमा कांग्रेसभित्र असन्तुष्टि देखिएपछि विभिन्न प्रदेश सरकारमा नेतृत्व परिवर्तनको चर्चा चलिरहेको छ ।