प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधान गर्दै उत्पादन तथा निर्यात प्रवर्द्धनमा सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग क्षेत्रको पुनरुत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्था, समस्या र सम्भावनाबारे जानकारी लिनुभएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिनुभयो ।
अध्यक्ष पाण्डेका अनुसार सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गरी अर्थतन्त्रमा योगदान पुर्याउने विषयमा छलफल भएको थियो । छलफलका क्रममा विभिन्न मन्त्रालय तथा निकायमा रोकिएका उद्योगसम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शाहले लामो समयदेखि बन्द रहेका तयारी पोशाक उद्योगलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्ने सरकारको योजना रहेको समेत बताउनुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै, कपडा तथा पोशाक उद्योगको विकासका लागि टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।
अमेरिकातर्फको तयारी पोशाक निर्यातमा देखिएको प्रयोगशाला परीक्षणसम्बन्धी अवरोध समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको संघले जनाएको छ ।