चारैतिर जंगल र पहाडले घेरिएको धनकुटाको पाख्रिबास नगरपालिका–९ स्थित मजुवा गाउँ बसाइँसराइका कारण सुनसान बन्दै गएको छ । अवसरको खोजीमा गाउँलेहरू शहरतिर लागिरहेका बेला ४५ वर्षीय शुक्र राई भने आफ्नै गाउँमा व्यावसायिक सम्भावना खोज्दै सफलताको बाटोमा अघि बढिरहेका छन् ।
मलेसियामा करिब आठ वर्ष काम गरेर १५ वर्षअघि गाउँ फर्किएका राईले खाली हुँदै गएको गाउँलाई निराशाको रूपमा नभई अवसरका रूपमा लिए । अहिले उनी माहुरी, माछा, बाख्रा पालन र केरा खेतीमा व्यस्त छन् ।
गाउँ फर्किएपछि सुरु गरेको तरकारी खेतीबाट अपेक्षित सफलता नपाएपछि उनी माहुरी पालनतर्फ आकर्षित भए । नजिकको बजार हिले गाउँबाट १० किलोमिटर टाढा र बाटो कठिन भएकाले तरकारी बिक्रीमा समस्या भएपछि बाबुबाजेले गर्दै आएको माहुरी पालनलाई उनले व्यावसायिक रूप दिए ।
सुरुमा परम्परागत काठेघारमा ६० घार माहुरी पालेका राईलाई पाख्रिबास नगरपालिकाले आधुनिक घार उपलब्ध गराएपछि उनले आधुनिक प्रविधिबाट माहुरी पालन सुरु गरे ।
माहुरी पालनबाट लाखौंको कारोबार
राईका अनुसार अहिले वार्षिक करिब ५ क्विन्टलसम्म मह उत्पादन हुने गरेको छ । कुट र चाकाबिनाको मह प्रतिकिलो १ हजार ५ सय रुपैयाँ तथा कुटचाकासहितको मह १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
तर उनको मुख्य आम्दानी मह बिक्रीबाट भन्दा माहुरीको गोला र घार बिक्रीबाट हुने गरेको छ । उनले गत वर्ष ७ सयभन्दा बढी खाली माहुरी घार र ३ सयभन्दा बढी गोला सहितका घार बिक्री गरेका थिए ।
आधुनिक पाँच फ्रेमसहितको एउटा माहुरी घार १० देखि १२ हजार रुपैयाँसम्म बिक्री हुने राई बताउँछन् । सिजनअनुसार यसको मूल्य फरक पर्ने गरेको छ ।
उनका घार र माहुरीका गोला धनकुटाका विभिन्न स्थानीय तह, किसान समूह तथा व्यक्तिहरूले खरिद गर्ने गरेका छन् । धनकुटासँगै तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ र उदयपुरसम्म पनि उनले अर्डरअनुसार घार र गोला पठाउने गरेका छन् ।
गाउँमै रोजगारी सिर्जना
राईले माहुरीको आधुनिक घार बनाउने काममा गाउँका ८ जनालाई रोजगारी दिएका छन् । वर्षको करिब १० महिना घार निर्माण र बिक्रीको काम चल्ने उनी बताउँछन् ।
माहुरीको घार बनाउन प्रयोग हुने टुनीको काठ पाउन समस्या हुँदै गएको उनको गुनासो छ । निजी वनमा काठ सकिँदै गएको र सामुदायिक वनबाट काठ लिन कठिन भएको भन्दै टाढाटाढासम्म पुग्नुपर्ने अवस्था रहेको उनले बताए ।
माहुरीसँगै बाख्रा, माछा र केरा खेती
माहुरी पालनसँगै राईले ६५ देखि ७० वटा बाख्रा तथा खसी पालन गरेका छन् । त्यसबाट पनि राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।
उनले ६० रोपनी जग्गामध्ये ४० रोपनीमा केरा खेती गरेका छन् भने पोखरी बनाएर माछा पालनसमेत गरिरहेका छन् । मोरङको लालभित्तीबाट ल्याइएका ७ हजार ग्रासकार्प माछा पोखरीमा हुर्किरहेका छन् ।
आफ्नो गाउँमै रोजगारी र आम्दानीको सम्भावना देखेका राई भन्छन्, “मलाई जापान पनि यहीँ, कोरिया पनि यही भइरहेको छ ।”
अन्य किसान पनि माहुरी पालनमा आकर्षित
मजुवामै धनकुटा नगरपालिका–१ हिलेका दुर्गा दर्लामी मगरले पनि व्यावसायिक रूपमा माहुरी पालन गर्दै आएका छन् । उनले १ सय १० घार एप्पिस सेरेना जातको माहुरी पालेका छन् ।
११ वर्षदेखि माहुरी पालन गर्दै आएका मगरका अनुसार सही प्रविधि र ज्ञान भए माहुरीले किसानलाई राम्रो आम्दानी दिन सक्छ । “माहुरी पाल्ने होइन, माहुरीले मान्छे पाल्छ,” उहाँ भन्नुहुन्छ ।
उनले माहुरी पालन विस्तारका लागि घार, गोला, मह उत्पादनसँगै पोलिन, कुट, बी–भेनम जस्ता सह–उत्पादनमा समेत सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
धनकुटामा वार्षिक २९ मेट्रिक टन मह उत्पादन
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा वार्षिक करिब २९ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार धनकुटामा ४ हजार ४ सय आधुनिक र ७ हजार ५ सय परम्परागत माहुरी घार रहेका छन् । जिल्लामा माहुरीको गोला र महको वार्षिक कारोबार करिब ४ करोड रुपैयाँ बराबर रहेको छ ।