पर्सागढी क्षेत्रमा लगाइएको सोना मन्सुली जातको धानमा पात तथा बोट काट्ने कीरा र सड्ने रोगको प्रकोप देखिन थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् । रोपाइँ गरेको करिब ३० दिनपछि धानबालीमा विभिन्न किसिमका कीरा तथा रोगको समस्या देखिन थालेको किसानहरूले बताएका छन् ।
किसानहरूका अनुसार धानबालीलाई रोग तथा कीराको प्रकोपबाट जोगाउन सुरुवाती चरणदेखि नै सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय किसानले पहिलोपटक युरिया मल छर्दा त्यसमा कीरा नियन्त्रण गर्ने औषधिसमेत मिसाएर प्रयोग गर्ने गरेका छन् भने केही किसानले ट्याङ्की तथा स्प्रेयरमार्फत विषादी छर्ने गरेका छन् । तर रोग तथा कीराको सही पहिचान र उचित औषधिबारे पर्याप्त जानकारी नहुँदा किसानहरू समस्यामा पर्ने गरेका छन् ।
स्थानीय किसानहरूका अनुसार सोना मन्सुली जातको धानमा विशेषगरी पात तथा बोट काट्ने कीरा र सड्ने रोगको समस्या बढी देखिएको छ । रोग नियन्त्रणका लागि कुन औषधि, कति मात्रामा र कुन समयमा प्रयोग गर्ने भन्ने प्राविधिक जानकारी नहुँदा किसानहरू विषादी पसलेको सल्लाहमा निर्भर हुन बाध्य भएका छन् ।
किसानहरूले स्थानीय सरकारले कृषि तथा विषादीसम्बन्धी राहत वा सहुलियतको व्यवस्था नगरेको गुनासो गरेका छन् । स्थानीय तहमा कार्यरत कृषि प्राविधिक तथा कर्मचारीहरू किसानको खेतमै पुगेर बालीको निरीक्षण गरी आवश्यक औषधि तथा उपचारबारे सल्लाह–सुझाव नदिने गरेको उनीहरूको आरोप छ ।
“कृषि कर्मचारीहरू कार्यालयमै बस्छन्। खेतमा आएर बालीको अवस्था हेर्ने र आवश्यक सुझाव दिने काम गरेका छैनन्,” एक स्थानीय किसानले गुनासो गरे ।
किसानहरूका अनुसार प्रत्येक बालीको सिजन सुरु हुनुअघि स्थानीय तहका कृषि प्राविधिकले टोल–टोलमा किसानलाई भेला गरी सम्भावित रोग तथा कीराको प्रकोप र त्यसको नियन्त्रणका उपायबारे जानकारी गराउनुपर्ने हो । कुन रोगमा कुन औषधि प्रयोग गर्ने, कति मात्रामा प्रयोग गर्ने र कसरी छर्ने भन्नेबारे प्राविधिक जानकारी दिए किसानलाई सहज हुने उनीहरूको भनाइ छ ।
तर आवश्यक प्राविधिक जानकारी नपाउँदा किसानहरू विषादी पसलेको भरमा औषधि खरिद गरी बालीमा प्रयोग गर्न बाध्य छन्। कतिपय अवस्थामा एउटै रोग नियन्त्रण गर्न दुईदेखि तीनपटकसम्म विषादी छर्नुपर्ने अवस्था रहेको किसानहरूले बताएका छन् ।
पहिलो चरणको सिँचाइपछि मलको अभाव हुनु र त्यसैबीच धानबालीमा कीरा तथा रोगको प्रकोप देखिनुले किसानलाई दोहोरो समस्या परेको छ । किसानहरूले सम्बन्धित निकायलाई तत्काल खेतमै पुगेर बालीको अवस्था निरीक्षण गर्न, प्राविधिक सहयोग उपलब्ध गराउन तथा आवश्यक राहत र सहुलियतको व्यवस्था गर्न माग गरेका छन्।