नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन भइरहेका २ लाख २३ हजार ५ सय ६८ भन्दा बढी एप तथा वेबसाइट बन्द गराएको छ ।
सरकारले गत चैत १३ गते जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको ४२औँ बुँदा कार्यान्वयन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा यस्ता बेटिङ तथा स्क्यामिङ साइट बन्द गराउने अभियान अघि बढाइएको हो ।
विश्वकप सुरु भएसँगै गैरकानुनी बेटिङ साइटको प्रयोग र जोखिम बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।
प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अवैध वेबसाइटको पहिचान, यूआरएल ब्लकिङ तथा हन्टिङको काम निरन्तर भइरहेको छ ।
एउटा वेबसाइट बन्द गरेपछि नयाँ डोमेन र फरक नामबाट पुनः सञ्चालन हुने चुनौती रहेकाले प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी निगरानीलाई थप प्रभावकारी बनाएको छ ।
प्राधिकरणले सर्वसाधारणलाई पनि यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भएमा सूचना उपलब्ध गराउन आग्रह गरेको छ । नागरिकले github.com/NTA-OPM मार्फत त्यस्ता वेबसाइटको विवरण वा अपडेट पठाउन सक्ने प्राधिकरणले जनाएको छ ।