पर्साको ठोरी गाउँपालिका–३ अन्तर्गत वीरगंज–ठोरी हुलाकी सडकखण्डको बाघमोर्चा मन्दिरबाट करिब पाँच सय मिटर उत्तर जंगलको काखमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाघमोर्चा अहिले सामुदायिक विद्यालयको पुनर्जागरणको उदाहरण बनेको छ ।
केही महिनाअघिसम्म विद्यार्थी अभावका कारण समायोजनको जोखिममा परेको विद्यालय अहिले स्थानीय समुदाय, प्रवासमा रहेका युवाहरू, शिक्षक र स्थानीय सरकारको संयुक्त प्रयासबाट नयाँ जीवन पाउन थालेको हो ।
साबिक सुवर्णपुर गाविसअन्तर्गत ठूलो बाघमोर्चा र आठघर गाउँबीच रहेको यो विद्यालय विसं २०४६ सालतिर स्थानीय अग्रजहरूको पहलमा स्थापना भएको थियो । शतप्रतिशत तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा सरकारी उपस्थितिको प्रतीकका रूपमा रहेको विद्यालयले तीन दशकभन्दा बढी समयसम्म हजारौँ बालबालिकालाई आधारभूत शिक्षा प्रदान गरेको छ ।
एक समय विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्थे। तर पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तरमा आएको गिरावट, निजी विद्यालयको प्रभाव, शिक्षक दरबन्दी कटौती तथा अभिभावकको विश्वास कमजोर बन्दै जाँदा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गयो। शैक्षिक सत्र २०८३ को सुरुआतसम्म आइपुग्दा विद्यालयमा जम्मा १२ जना विद्यार्थी मात्र बाँकी थिए ।
विद्यालयमा तीन जना प्राथमिक तहका शिक्षक, दुई जना बालविकास सहजकर्ता र एक जना कार्यालय सहयोगी गरी छ जना कर्मचारी रहे पनि विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि विद्यालय समायोजनको चर्चा सुरु भएको थियो । तर यही संकटले गाउँका युवाहरूलाई विद्यालय जोगाउने अभियानमा एकजुट बनायो ।
वैदेशिक रोजगारीमा रहेका बाघमोर्चाका युवाहरूले सामाजिक सञ्जालमार्फत समूह गठन गरी विद्यालय सुधार अभियान सुरु गरे । गाउँका करिब प्रत्येक घरबाट एक जना युवा विदेशमा रहेकाले उनीहरूले आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउन थाले । विद्यालय सुधारका लागि आवश्यक सामग्री खरिद गर्न मात्रै हालसम्म करिब तीन लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
विद्यालयको परिवर्तनमा प्रधानाध्यापक रञ्जीत कार्कीको नेतृत्वलाई पनि महत्वपूर्ण मानिएको छ । जेठको पहिलो सातादेखि विद्यालयको जिम्मेवारी सम्हालेका कार्कीले विद्यालयको कमजोर अवस्थालाई सुधार अभियानको अवसरका रूपमा लिए ।
विद्यालयमा खानेपानीको चरम अभाव थियो । एउटा बोतल पानी भर्नसमेत आधा घण्टासम्म चापाकल चलाउनुपर्ने अवस्था थियो। कार्कीले स्थानीय समुदायको सहयोगमा ३५ वर्षदेखि प्रयोगविहीन रहेको जापान सरकारको सहयोगमा निर्माण गरिएको धारा पुनः सञ्चालनमा ल्याए । त्यसपछि विद्यालयमा नियमित खानेपानीको व्यवस्था भएको छ ।
उनले विद्यालय परिसर सफाइ, विद्यार्थीको दिवा खाजा व्यवस्थापन, शिक्षकको नियमित उपस्थितिमा कडाइ तथा शैक्षिक वातावरण सुधारका लागि निरन्तर पहल गरे । आफ्नै घरबाट ग्यास सिलिन्डर विद्यालय ल्याएर दिवा खाजा व्यवस्थापनमा सहयोग गरेका उनले विद्यालय समयपछि र बिदाका दिनसमेत विद्यालयमै खटिएर सुधार अभियानलाई अघि बढाएका छन् ।
यसको सकारात्मक प्रभाव विद्यार्थी सङ्ख्यामै देखिएको छ । केही महिनाअघि १२ जना मात्र रहेका विद्यार्थी अहिले २५ पुगेका छन् । प्रधानाध्यापक कार्कीले आगामी वर्ष विद्यार्थी सङ्ख्या अझ उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।
उनका अनुसार विदेशमा रहेका ३५ भन्दा बढी युवाले विद्यालय सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । सङ्कलित रकम विद्यालय पोशाक, शैक्षिक सामग्री र आवश्यक पूर्वाधार विकासमा खर्च गर्ने तयारी भइरहेको उनले बताए ।
विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने, विद्यालय समयपछि अतिरिक्त कोचिङ कक्षा सञ्चालन गर्ने तथा बाघमोर्चा विद्यालयलाई गुणस्तरीय सामुदायिक शिक्षाको नमूना बनाउने योजना पनि अघि सारिएको छ ।
विद्यालय सुधार अभियानमा ठोरी गाउँपालिका र वडा कार्यालयले पनि साथ दिएका छन् । चालु आर्थिक वर्षमै विद्यालय सुधारका लागि बजेट विनियोजन गरिएको छ। बजेट निकासा भएपछि भवनमा फल्स सिलिङ गर्ने, रङ्गरोगन गर्ने तथा अन्य भौतिक पूर्वाधार सुदृढ बनाउने तयारी गरिएको छ ।
अहिले विद्यालयमा विद्यार्थीहरू अतिरिक्त समयमा पनि कम्प्युटर प्रयोग गर्न, खेलकुद गर्न तथा गृहकार्य गर्न आउने गरेका छन् । विद्यालयप्रति अभिभावकको विश्वास पनि पुनः बढ्न थालेको छ । वडाध्यक्ष अष्टबहादुर लोप्चनले नियमित रूपमा विद्यालयको अनुगमन गर्दै आवश्यक सहयोग गरिरहेका छन् भने विद्यालय सुधारका लागि बनाइएको मेसेन्जर समूहमा विदेशमा रहेका युवाहरूले निरन्तर छलफल र सहयोग गरिरहेका छन् ।
एक समय अस्तित्व जोगाउन संघर्ष गरिरहेको बाघमोर्चा विद्यालय अहिले समुदाय, शिक्षक, स्थानीय सरकार र प्रवासमा रहेका युवाको साझा प्रयासबाट पुनर्जागरणको यात्रामा अघि बढिरहेको छ। यसले सामुदायिक विद्यालयप्रतिको विश्वास मात्र होइन, सामूहिक प्रयासले परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश पनि दिएको छ ।