जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका विभिन्न होटल तथा पानी उद्योगमा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गर्ने व्यवसायलाई कारबाही तथा निर्देशन दिएको छ ।
खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो आएपछि विभागअन्तर्गतको जनकपुरधाम कार्यालयले साउन ५ गते स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार तीन वटा व्यवसायमा अनियमितता भेटिएपछि आवश्यक कारबाही र निर्देशन दिइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा जनकपुरधाम–८ स्थित इनेजिक केगंन वाटर उद्योगले मापदण्डविपरीत कार्य गरेको पाइएको छ । उद्योगले प्रशोधित पिउने पानी उत्पादनका लागि अनुमति लिए पनि २० लिटरको जारमा ‘अल्कालाइन वाटर’ उत्पादन तथा बिक्री–वितरण गरिरहेको भेटिएको हो । साथै उद्योगले आफ्नो नाम परिवर्तन गरी ‘मिराकल वाटर उद्योग’ राखेको समेत विभागले जनाएको छ ।
विभागले हाललाई उक्त उद्योगबाट उत्पादित अल्कालाइन पानी बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। साथै आवश्यक सम्पूर्ण कागजातसहित कार्यालयमा उपस्थित हुन पनि उद्योगलाई भनिएको छ ।
त्यसैगरी, जनकपुरधाम–१० स्थित श्री होटल मिथिला चिरायुमा गरिएको अनुगमनका क्रममा सरसफाइमा कमी रहेको तथा मसीले छापिएको पत्रपत्रिका खानाको प्रत्यक्ष सम्पर्कमा प्रयोग गरिएको पाइएको छ । विभागले होटललाई सरसफाइमा विशेष ध्यान दिन र खाना राख्न वा बेर्न पत्रपत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ ।
जनकपुरधाम–४ स्थित सौरभ खाउँ–खाउँ चाट पसलमा पनि यस्तै अनियमितता भेटिएको छ । पसलमा मसी लागेको पत्रिका खानाको प्रत्यक्ष सम्पर्कमा प्रयोग गरिएको, सरसफाइमा कमी रहेको तथा पकाएको खाना सुरक्षित तापक्रममा नराखिएको अनुगमन टोलीले फेला पारेको जनाएको छ ।
विभागले चाट पसललाई सरसफाइ सुधार गर्न, मसी लागेको पत्रिका प्रयोग नगर्न तथा पकाएको खाना सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सबै व्यवसायीलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार मापदण्ड पूरा गर्दै उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।