रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार गरिएको घटनाका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय गरुडामा औपचारिक जाहेरी दर्ता गरिएको छ ।
सांसद पौडेल सोमबार रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासहित इलाका प्रहरी कार्यालय गरुडा पुगेर घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउन मागसहित लिखित निवेदन दर्ता गराएका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको बताए। उनका अनुसार दोषीको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ ।
जाहेरी दर्ताका क्रममा उपस्थित रास्वपा नेता रवीन्द्र यादव र दीपक यादवले घटना भएको सात दिन बितिसक्दा पनि दोषी पक्राउ नपर्नु गम्भीर विषय भएको बताए । जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा भएको आक्रमणमा समेत प्रहरी प्रभावकारी बन्न नसकेको अवस्थामा सर्वसाधारणको सुरक्षामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनीहरूको भनाइ थियो ।
यसैबीच, रास्वपा रौतहटले घटनामा संलग्न व्यक्तिलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा नल्याइए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।
गत बिहीबार राति गढीमाई नगरपालिका–४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल सकेर फर्किने क्रममा सांसद पौडेलमाथि अज्ञात समूहले पछाडिबाट कालोमसी प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार ४–५ जनाको समूहले पोस्टर र पर्चा छर्दै नाराबाजी गरेको र त्यसक्रममा सांसदमाथि कालोमसी प्रहार गरी फरार भएको थियो ।
घटनापछि जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।